समाचार

दिनेशले दिएको बयानको बिश्वास लागेन भन्दै, आफन्तद्वारा भागरथीको शव बुझ्न अझै अस्वीकार

धनगढीः कर णी पछि ज्या न लि एको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेपनि भागरथीको शव उठाउन भने परिवारले अस्वीकार गरेको छ। भागरथीको घटनामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक नगरेसम्म शव नउठाउने अडान लिएका मृतकको परिवारले प्रहरीले अभियुक्त सार्वजनिक गर्दा समेत शव नबुझेको हो।

दिनेश खबरका अनुसार जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले प्रक्रियामा रहेपनि अहिलेसम्म मृतकका आफन्तले शव नबुझेको बताए। मृतकका काका नाता पर्ने शिवराज भट्टले प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि आफूहरु उनले दिएको भनिएको साबिती बयानमा विश्वस्त नरहेका कारण तत्काल शव नबुझिएको बताएका छन्।

‘प्रहरीले सार्वजनिक गरेको अभियुक्तप्रति विश्वास गर्नुपर्ने विश्वसनीय प्रमाण प्रस्तुत नगरेकाले शव नबुझेका हौँ,’ भट्टले भने। प्रहरीले बुधबार दिउँसो भागरथीको घटना घटाएको अभियोगमा दोगडाकेदार गाउँपालिकाकै प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो।

भागरथी भट्टको प्रकरणमा बुधबार सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरीले तीनवटा दाबी गरेको छ- घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यहाँ देख्ने मान्छे पनि छन् र उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले यसो भनिरहेका बेला पत्रकारले प्रश्न गरे- निर्मला पन्त प्रकरणमा पनि दिलिपसिंह विष्टले घटनामा आफ्नो संलग्नता स्विकारेको दाबी प्रहरीको थियो। ठोस प्रमाण चाहिँ के छ ? अनुसन्धान पंरा नगरी पत्रकार सम्मेलन गर्न यहाँहरुलाई हतार भएको हो कि?

तर यता भट्टको प्रकरणमा आफुले गरेको अनुसन्धानमा शंका नगर्न प्रहरीले आग्रह गरेको छ। सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले संकलन गरेका प्रमाणका आधारमा पक्राउ गरेका व्यक्ति नै संलग्न छन् भन्ने हाम्रो दावी हो’, डीआईजी सुवेदीले भने, ‘ हामीले कहिँ कतै त्रुटी गरेका छैनौँ। प्रारम्भिक अनुसन्धानको नतिजाले पक्राउ परेका व्यक्ति संलग्न रहेको देखिन्छ।’

प्रहरीले बुधबार राती मृतक भट्टकै गाउँका किशोरलाई पक्राउ गरेको थियो। प्रहरीले घटनामा ती किशोरले आफ्नो संलग्नता स्विकार गरेको दावी गरेको छ। ‘ आरोपितको बयान मात्र हैन की घटनाका बेला उनी घटनास्थलमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यस क्षेत्रमा देख्ने मान्छेहरु पनि छन्’, उनले भने।

Related Articles

Back to top button