म्यादीलाई सामाजिक सञ्जालमा कमेन्ट गर्न रोक र फोन बोक्न पनि नपाइने

समाचार

काठमाडौं ।

आगामी आमनिर्वाचनमा खटिने म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने गरी सरकारले मापदण्ड बनाएको छ ।

गृह मन्त्रालयले स्वीकृत गरेको भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९ मा म्यादीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट् गर्न नपाउने उल्लेख छ । म्यादीले ड्युटीको समयमा मोबाइल फोन बोक्न पनि पाउने छैनन् । आफ्नो काम अरूलाई सुम्पिएर अन्यत्र हिँड्न वा भाग्न पनि पाइने छैन ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले म्यादी भर्ना भइसकेपछि तोकिएको अवधिभित्र मापदण्ड कडाइका साथ लागू गराउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

आगामी निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकारले प्रहरी प्रधान कार्यालयलाई स्वीकृत प्रदान गरिसकेको छ । प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकबाट म्यादी छनोट गर्न देशभरका जिल्ला प्रहरी कार्यालयमा भदौ ३० देखि असोज ६ सम्म आवेदन खुलाउँदै छ ।

म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने छ । गृहमन्त्रालयले आसन्न स्थानिय निर्वाचनको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई म्यादी प्रहरीका रुपमा खटाउने निर्णय गरेको छ।

सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।