समाचार

उदयपुरको मुख्य सडकमा चालक र पैदल यात्रु होसियार नहुँदा सवारी दुर्घटना बढ्दै

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट नजिकै ६ दिनअघि सडक दुर्घटनामा परेका दुईजनाको खतरामुक्त हुदै गएको छ । गाईघाटदेखि गैरुनतर्फ जाँदै गरेको मोटरसाईकल र अटो आपसमा ठोकिँदा उनीहरु घाइते भएका थिए ।

जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय निश्चल घिमिरे र पछाडि सवार त्रियुगा नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय छबिलाल दनुवार दुवै घाइतेलाई एम्बुलेन्समार्फत मोरङको बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचाररत छन् । भर्ना भएको ६ दिनपछि दुवैको अवस्था सामान्य हुदै गएको अस्पतालस्रोतले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिलाबहादुर श्रेष्ठका अनुसार बुधबार बेलुका ५ः०० बजेतिर अटो र मोटरसाईकल ठोकिएका थिए । गाईघाटबाट मदन भण्डारी लोकमार्ग हुँदै राजाबास जाँदै गरेका चालकले बीच सडकमै बाटो नहेरी अचानक अटो घुमाउदा पछाडीबाट आउँदै गरेको मोटरसाईकल ठोकिएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार अटो चालक भने सकुशल छन् । अटोमा ठोकिएको मोटरसाईकलमा सवार दुवैको टाउँको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । ११६६ नम्बरको अटो अहिले प्रहरी नियन्त्रणमा रहेको छ ।

पूर्व-पश्चिम बैकल्पिक पहाडी लोकमार्गको रुपमा स्थापित मदन भण्डारी सडकमा दिनानुदिन सवारी दुर्घटना बढ्दो छ । पैदल यात्रु र सवारचालकले सवारी नियम पालना नगर्दा दुर्घटना बढेको स्थानीय बताउछन् ।

सवारी चाँप बढ्दै गरको मुख्य सडकमा यात्रुहरुले पनि सवारी नियम अनुहार सडकबीचमै हिडडुल गर्ने र सवारी साधनहरुले पनि बेपर्वाह हुइक्याउने गरेको पाइएको छ । त्यस्तै तीन पांग्रे अटो र सफारी लगायतका साधनहरु बीच सडकमै अगाडि पछाडी आइरहेको सवारीसाधन ख्यालै नगरी ‘युटर्न’ गर्नेक्रमले अझै दुर्घटनालाई टेवा पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो महिना मात्र साना ठूला गरी आधादर्जन दुर्घटना भइसकेको छ ।

Related Articles

Back to top button