समाचार

बेलायतले नेपालबाट १० हजार कामदार लैजाने, तलब ३५ लाख !

काठमाडौं । बेलायतले १० हजार नेपाली नर्सहरु लैजाने इच्छा देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले १० हजार नेपाली नर्सहरु लैजाने इच्छा बेलाएतले देखाएको जानकारी दिएका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुलाई जानकारी दिंदै सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने भएको बताए ।

सचिव गौतमले सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताए ।

उनले कोभिडपछि बेलायतमा झन्डै एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आबद्ध भएका कामदार लाने तयारी भएको बताए ।

सचिव गौतमका अनुसार बेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ । बेलायतले पहिलो चरणमा पाँच हजार नर्सलाई लाने र बिस्तारै थप गर्दै जाने प्रारम्भिक सहमति समेत गरेको सचिव गौतमले बताए ।

सचिव गौतमका अनुसार बेलायत जाने नर्सले वार्षिक २४ हजार पाउन्ड स्टर्लिङ अर्थात् झन्डै ४५ लाख रुपैयाँ तलब पाउनेछन् । सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बरभित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिबद्धता जनाएको बताए ।

त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोलीसमेत गठन भइसकेको सचिव गौतमले बताए ।

Related Articles

Back to top button