समाज

पदमबहादुर कतारमा बितेको ७ वर्षपछि परिवारले पायो झण्डै ४५ लाख

कमाउन गएको जेठो छोरो कतारमै अस्ताएको ७ वर्षपछि इलामका बलबहादुर राईलाई उनै जेठो छोराको नाम लिएर गएको भदौमा कसैले सोधे, ‘तपाईँ पदमबहादुर राईको बुवा हो ?’

पदमबहादुर झस्कनुभयो । सोच्नुभयो – ‘यतिका वर्षपछि मेरो नानीको नाम लिएर किन सोधेको होला ?’ मनमा शंकासहित मलिन स्वरमा जवाफ दिनुभयो – ‘हो ।’ उहाँलाई खोज्दै आउने पालिकाका प्रतिनिधि थिए ।

छोरो कतारबाट बाकसमा फर्केको सात वर्षपछि परिवारलाई खोज्दै पालिकाका प्रतिनिधि आउनुको कारण –थियो क्षतिपूर्तिवापतको रुकम बुझाउनु ।

‘छोरो बितेको पनि सात वर्ष भइसकेको थियो, हामीलाई त त्यस्तो पैसा आउँछ भन्ने पनि थाहा थिएन, त्यत्रो धेरै पैसा आएको रहेछ,’ बलबहादुरले भन्नुभयो, ‘छोराको नाममा झण्डै ४५ लाख रुपैयाँ आएको छ भन्दा त सपनाजस्तो लाग्यो नि ।’

लाग्न त बलबहादुरलाई आज पनि आफ्नो छोरो सपनाहरु अधुरै छाडेर कतारमा बित्यो जस्तो लाग्दैन । परदेशिने बेला घरको दुःख पन्छाउने, राम्रो न्यानो घर बनाउने र भविष्यका लागि बचत गर्ने पदमबहादुरको सपना थियो ।

घर आउँछु भनेको छोरो जब बाकसमा आयो

इलामको रोङ गाउँपालिकाका बलबहादुरका जेठो छोरा पदमबहादुर राई स्कुल पढ्दापढ्दै वैदेशिक रोजगारीका लागि कतार जानुभएको थियो । घरको आर्थिक अवस्था निकै कमजोर, स्कुलको फि तिर्न त परको कुरा बिहान बेलुकाको छाक टार्न पनि धौधौ । जसको कारण पढाइभन्दा पनि कमाइलाई प्राथमिकतामा राखेर बलबहादुरले पठाउनुभएको थियो छोरालाई परदेश ।

सोचेअनुसार नै चल्दै थियो पदमबहादुरको कतार बसाई । महिनैपिच्छे घरमा पैसा पठाउँथे । छोराले कमाइ गरेर पठाउन थालेपछि घर चलाउन पनि सहज हुँदै थियो । पदमबहादुरले घरमा होटलमा वेटरको काम गर्ने र काम सहज नै भएको सुनाउनुहुन्थ्यो । दुई वर्षे करार अवधि पनि सकिनै लागेको थियो । करार अवधि सकिन लागेकाले पदमबहादुरले आफू घर आउने योजना पारिवारमा सुनाउनुभएको थियो ।

परदेश गएको छोरोले घर आउँछु भनेपछि परिवार यता छोरो फर्कने दिन गन्न थाले । तर भइदियो के भने घर आउँछु भनेको छोराको एक्कासी खबर नै आउन छाड्यो । एक दुई दिन र महिना मात्र होइन तीन महिना बित्दा पनि न पदमबहादुरको फोन आयो न उहाँ नै फर्कनुभयो । त्यसपछि बलबहादुरले कतारमै रहेका पदमबहादुरका साथीहरुमार्फत छोराको सोधीखोजी गर्नुभयो । साथीमार्फत नै पदमबहादुरको कतारमै ज्यान गएको खबर प्राप्त भयो ।

‘घरमा हामी छोरो आउला भन्दै दिन गन्ने उसले उता संसार छाडिसकेछ,’ बलबहादुर त्यो क्षण सम्झदै भन्नुहुन्छ, ‘दैवको खेल कस्ले जान्ने, मेरो नानी आज पनि मलाई कतारमै छ कि जस्तो लाग्छ ।’

‘हामी त सोझो मानिस विदेशमा मानिस बित्दा त्यसरी पैसा आउला भन्ने के थाहा र, हामीले कल्पना पनि नगरेको कुरा थियो,’ पदमबहादुरले भन्नुभयो ।
पदमबहादुर काम त होटलमा गर्नुहुन्थ्यो । तर कामकै सिलसिलामा २४ जनवरी २०१३ मा सडक दुर्घटनामा परी ज्यान गयो । छोरो र छोराको कमाइ पर्खेर बसेको पदमबहादुरको परिवारमा छोराको श’व बाकसमा आइपुग्यो ।

तर के गर्ने जे आइपरेको परिस्थितिलाई स्वीकार्नु बाहेक बलबहादुरसँग बिकल्प थिएन । परिवारले परम्परा अनुसार नै पदमबहादुरको सदगत गर्‍यो ।

‘हामी त सोझो मानिस विदेशमा मानिस बित्दा त्यसरी पैसा आउला भन्ने के थाहा र, हामीले कल्पना पनि नगरेको कुरा थियो,’ पदमबहादुरले भन्नुभयो ।

पदमबहादुरको परिवारलाई करार अवधिभित्रै श्रमिकको मृ’त्यु हुँदा वैदेशिक रोजगार बोर्ड र बीमार्फत रकम पाइन्छ भनेर भनिदिने कोही थिएन । जानकारीकै अभावमा बोर्ड र बीमार्फत पाउने रकम दावी गर्ने समय गुज्रियो । तर बल्लतल्ल कमाउन थालेको छोरो नै बाकसमा फर्कंदाको त्यो क्षणमा पैसाको खोजी गर्ने सम्झना पनि भएन बलबहादुरको परिवारलाई ।

तर सात वर्षपछि एक्कसी खोजी हुँदा र त्यति ठूलो रकम आएको छ भन्दा परिवारका सदस्य र आफन्त नै अचम्ममा परे ।

यसरी आयो झण्डै ४५ लाख रुपैयाँ

करार अवधिभित्रै पदमबहादुरको कतारमा ज्यान गएको हुँदा उहाँको परिवारले वैदेशिक रोजगार बोर्ड र बीमामार्फत पनि रकम पाउने थियो । तर जानकारीको अभावमा बोर्ड र बीमामार्फत पाउने सहायता रकम भने दावी गर्ने समय गुज्रिसकेको थियो ।

तर कतारमा कामकै सिलसिलामा ज्यान गुमाएकाले क्षतिपूर्तिबापत कतारबाटै सात वर्षअघि नै ४४ लाख ९९ हजार ८६६ रुपैयाँ पदमबहादुरको नाममा परराष्ट्र मन्त्रालयमा आयो । परराष्ट्रले पदमबहादुरको गृह जिल्ला इलाम भएकाले जिल्ला प्रशासन कार्यालय इलाममा पैसा पठाइदियो ।

पैसा पदमबहादुरको नाममा आए पनि इलामकै भए पनि परिवारको सही ठेगाना र सही नाम नहुँदा प्रशासन कार्यालयले पदमबहादुरको परिवार खोज्न सकेन ।

छोरो बितेको सात वर्षपछि झण्डै ४५ लाख रुपैयाँ रकम पाउँदा परिवारमा राहत मिलेको पदमबहादुरका भाइ वीरमान राई बताउनुहुन्छ । आप्रवासी स्रोत केन्द्र इलामका अनुसार पदमबहादुरसहित अन्य केही व्यक्तिको नाम थर ठेगाना नमिलेर रकम बुझाउन नसकिएको जानकारी स्रोत केन्द्रमा आयो । केन्द्रले यसबारे सहजिकरण गर्ने विषयमा छलफल गर्‍यो ।

स्रोत केन्द्रले प्रशासन कार्यालयमा थप सहजीकरण गर्नुको साथै पालिका, सेवाग्रही, समाजसेवी लगायत विभिन्न ठाउँमा यस विषयको सूचना सम्प्रेषण गर्‍यो ।

यसै क्रममा इलामकै रोङ गाउँपालिकासँगको समन्वयमा आप्रवासी स्रोत केन्द्रले नै पदमबहादुरको परिवार पत्ता लगायो ।

जिल्ला प्रशासन कार्यालय इलामले पदमबहादुरको परिवार नभेटेपछि परिवार भेट्न असमर्थ भन्दै परराष्ट्रलाई चिठी पनि लेखिसकेको थियो । तर केन्द्रको समन्वयमा नै पदमबहादुरको परिवारले सात वर्षपछि गएको असोजमा रकम पाएको छ ।

छोरो बितेको सात वर्षपछि झण्डै ४५ लाख रुपैयाँ रकम पाउँदा परिवारमा राहत मिलेको पदमबहादुरका भाइ वीरमान राई बताउनुहुन्छ ।

‘हामीले सपनामा नसोचेको कुरा भयो, हामी स्रोत केन्द्रप्रति धेरै आभारी छौं,’ वीरमान भन्नुहुन्छ,‘आप्रवासी स्रोत केन्द्र नभएको भए सायद हाम्रो पैसा फेरि कतार नै पो जान्थ्यो कि ।’

दाइ बितेर गए पनि दाइको नाममा आएको पैसाले दाइको सपना पूरा गर्ने वीरमानको योजना छ । परदेशमा कमाएर राम्रो घर बनाउने र जग्गा किन्ने पदमबहादुरको योजना थियो । अब आएको रकमबाट बुवाआमाको लागि दाइले सोचेजस्तै घर बनाइदिने र जग्गा किन्ने बताउनुहुन्छ, वीरमान ।

Related Articles

Back to top button