समाचार

उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, होटल रेस्टुरेन्टका लागि नियम बनाउदै ,यी अन्य पसललाइ पनि खुल्ने

काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई अझै एक साता थप गरिने भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेका हुन्।

निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ। विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाइने भएको छ। खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।

निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

प्रजिअहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका छन् । खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । ‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरेका छौं’ प्रजिअ भट्टराईले भने–‘पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्न पाइन्छ ।’

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

Related Articles

Back to top button