रोचक

महिलाले आफैंलाई चिहानमा गाडेर १८ करोड कमाइन्, ९ वर्षपछि यसरी भयो खुलासा

काठमाडौं। पैसा कमाउनको लागि मानिसहरुले अनेकौं उपाय अपनाउँछन् । तर, एक महिलाले त पैसाको लागि आफैंलाई मरिसकेको प्रमाणित गरेर पैसा हात पारेको खुलासा भएको छ । उनको यो अपराधको खुलासा घटनाको ९ वर्षपछि अहिले भएको हो । पाकिस्तानकी यी महिलाले पैसा हात पार्नको लागि जुन उपाय अपनाइन त्यसको बारेमा थाहा पाउँदा मानिसहरु चकित परेका छन् ।

हिन्दूस्तान टाइम्सको रिपोर्टअनुसार यी महिलाले आफ्नो जीवन बिमाको पैसा हात पार्नको लागि आफ्नै मृत्युको नाटक रचिन् र यो नाटकबाट उनी पैसा हात पार्न सफल पनि भइन् । ती महिलाले १.५ मिलियन डलर (झण्डै १८ करोड रुपैयाँ)को जीवन बिमा गराएकी थिइन् । अहिले ती महिलाले बिमा कम्पनीलाई ठगी गरेको खुलासा भएपछि अधिकारीहरुले महिलामाथि कारवाहीको प्रक्रिया अगाडि बढाएका छन् ।

महिलाले आफूलाई मृत घोषित गरेपछि उनका छोराछोरीले उनको मृत्यु भएको कागजपत्र पेश गरेर बिमा रकम दावी गरेका थिए । पाकिस्तानको संघीय जाँच एजेन्सी एफआइएका एक अधिकारीका अनुसार यी महिला २००८ र २००९ मा गरी २ पटक अमेरिका यात्रामा गएकी थिइन् । यस क्रममा उनले आफ्नो नाममा २ जीवन बिमा गराएकी थिइन् । २०११ मा उनले एक जना डाक्टरसहित पाकिस्तानका केही स्थानीय अधिकारीहरुलाई घुस दिएर आफ्नो नाममा मृत्यु प्रमाणपत्र जारी गराइन् ।

उनको मृत्यु प्रमाणपत्रसहितका दस्तावेजमा उनको शवलाई कहाँ गाडिएको छ भन्ने समेत उल्लेख थियो । यही प्रमाणपत्र र अन्य दस्तावेजका आधारमा महिलाका छोराछोरीले बिमा रकम दावी गरे र रकम हात पार्न सफल पनि भए । मृत घोषित भइसकेपछि पनि ती महिलाले कराँची अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा १० पटक विदेश यात्रा गरिन् । तर, एयरलाइन्स कम्पनीसहित विमान यात्रासँग सम्बन्धितहरुले पनि उनको धोकाको पहिचान गर्न सकेनन् ।

अधिकारीका अनुसार यो अवधिमा महिला फरक फरक ५ देशको यात्रामा गएकी थिइन् तर हरेक पटक उनी फर्किएर घर आइन् । एफआइएले अब महिला, उनका छोरा र छोरी, केही स्थानीय अधिकारी र एक डाक्टरविरुद्ध आपराधिक मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ । अधिकारीका अनुसार अमेरिकी अधिकारीहरुले यी महिलाबारे सचेत गराएपछि पाकिस्तानी अधिकारीले जाँच सुरु गरेका हुन् ।

Related Articles

Back to top button