समाचार

नयाँ बर्षलाई लक्षित गर्दै फेरी लकडाउन गर्ने ओली सरकारको तयारी, काठमाडाैं छाेड्नेहरूकाे भीड

नयाँ बर्षलाई लक्षित गर्दै ओली सरकारले फेरी लकडाउन गर्ने तयारी गरेको छ । नयाँ बर्ष २०७८ सुरु हुन् केहि दिन मात्रै बाँकी रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।

पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ ।

सरकारले लकडाउन गर्ने तयारी गरेपछि अहिले काठमाडाैं उपत्यका छोड्नेहरुको भीड बढेको छ ।

फेरि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी सकेसम्म लकडाउन गर्दैनौं । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ । त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले कोभिड-१९ को संक्रमणबाट बच्न र मुलुकमा लकडाउन गर्नुपर्ने स्थिति आउन नदिन सबैलाई स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउन आग्रह गरे। पुनः बेसार पानी खान आग्रह गर्दै, सफा सुग्घर हुन, साबुन पानीले हात मुख नियमित धुन र बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गरे ।

अम्बाको पात हालेर उमालेको पानीले कुल्ला गरे कोरोना चैट

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए । कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताए ।

उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट । नुन पानीले गाल गुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने हो केही प्रसेन्ट बाँकी रहन्छ त्यही केही प्रसेन्टभित्र परियो भने गैगयो नी । त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको बताए । यस्तै उनले कर्मचारीतन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले भने, ‘ब्युरोक्रयाटिक हडल्स, यो प्रक्रियाको जन्जालभित्र पर्ने कुरा हो यो ब्युरोक्रयाटिक हडल्स । यसलाई पनि सरलीकृत गर्ने । यसमा हामीले अलिकति प्रणालीकै बारेमा, अलिकति प्रक्रियाकै बारेमा पुनर्विचार गर्न जरुरी छ । व्यक्तिलाई मात्रै दोष लगाएर हुने स्थिति छैन ।’

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरे । अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गरे । कोभिडका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठनै नसक्ने गरी भने असर नपरेको बताए ।

उनले भने, ‘कोभिड १९ को बीचमा पनि हाम्रो अर्थतन्त्र जति अन्यत्र धेरै ठाउँमा धक्का प¥यो हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन । धक्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौपट भएको छ, होटल व्यवसाय चौपट भएको छ अरु क्षेत्रहरु पनि धेरै नोक्सान परेका छन् । त्यसकारण क्षति नभएको होइन तर फेरीपनि हामीलाई त्यति धक्का परेको छैन जति विभिन्न देशहरुमा परेको छ । एउटा विश्वकै संकटको रुपमा यो महामारी आएको छ र यस महामारीलाई हामीले नियन्त्रण त गरेका छौं । सञ्चारकेन्द्र डटकम

Related Articles

Back to top button